ताजा अपडेट :

जेष्ठ नागरीकलाई परिचयपत्र वितरण गर्न सुरु

जेष्ठ नागरीकलाई परिचयपत्र वितरण गर्न सुरु
म्याग्दी, १६ असोज
 म्याग्दीका जेष्ठ नागरीकहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ ।     महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पुरा गरेका नागरीकहरुलाई जेष्ठ नागरीक परिचयपत्र वितरण गर्न थालेको हो । पहिलो चरणमा ४५ जना जेष्ठ नागरीकहरुलाई परिचयपत्र वितरण गरिएको छ ।

    प्रत्येक महिनाको २ गते कार्यालयबाट जेष्ठ नागरीक परिचयपत्र वितरण गरिने शनिबार २६ औ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । वि.स २०६८ मा भएको गणगणना अनुसार एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा जेष्ठ नागरीकको संख्या आठ प्रतिशत छ ।

परिचयपत्र भएका जेष्ठ नागरीकले सार्वजनिक यातायातका साधन र सरकारी अस्पतालमा पचास प्रतिशत छुटको सुबिधा पाउने भएका छन् । महिला तथा बालबालिका कार्यालयको सहयोगमा जेष्ठ नागरीक समाजले आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरीकको सेवा सुबिधाका लागि राज्यले गरेका ब्यवस्था र अधिकार तथा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो ।

    सहभागिहरुले जेष्ठ नागरीकलाई सम्मानपूर्वक बाँच्न पाउने र उनिहरुको ज्ञान, सिप र अनुभव नयाँ पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए । राज्यले दिएको सेवा सुबिधा सहज रुपमा उपभोग गर्ने वातावरण मिलाउनुपर्ने सहभागिको भनाई थियो ।

    कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा, नेपाल बार एशोसियसन जिल्ला अदालत बार ईकाई म्याग्दीका सभापति डाक्टर भुपेन्द्रबहादुर खड्का र जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक भिम आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा ९५ वर्षिय प्रेमदत्त अधिकारी, ९२ वर्षिय भन्द्रकुमार घिमीरे र ८० वर्षिय कर्णबहादुर शेरचनलाई नगद एकएक हजार रुपैया सहित सम्मान गरिएको थियो । जेष्ठ नागरीक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रेमप्रसाद पौडेलको स्वागत र हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह