ताजा अपडेट :

दाना—खुर्कोट प्रसारणलाइन निर्माण सुरु

दाना—खुर्कोट प्रसारणलाइन निर्माण सुरु
पर्वत १५ असोज
२२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ ।     नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन लागेको जनाइएको छ । दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभी कार्यक्षेत्रमा परिचालन भएको आयोजनाका इन्जिनियर यादव न्यौपानेले जानकारी दिनुभयो । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो ।


विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । चौध मेगावाट क्षमताको थापाखोला, चार मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।


 सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भइसकेको इन्जिनियर न्यौपानेले बताउनुभयो । सबस्टेसन र प्रसारण लाइनको टावर रहने स्थानको विस्तृत सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदारले दसँैअघि नै पूर्वाधार निर्माणको काम सुरु गर्ने जनाएको छ । दानादेखि कुश्मासम्म एक सय १० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार दुई सय मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको एक सय ४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ ।  


कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जलविद्युत् आयोजना निर्माणले तीव्र गति पाउने र लगानीकर्ता आकर्षित हुने आयोजनाका इन्जिनियर आनन्द सुवेदीले बताउनुभयो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह