ताजा अपडेट :

पर्वतका विभिन्न ५ सहकारीलाई व्यवस्थापन तालिम

पर्वतका विभिन्न ५ सहकारीलाई व्यवस्थापन तालिम

पर्वत, १७पुस

     पर्वतका ग्रामीण भेगमा सञ्चालित विभिन्न ५ सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई सहकारी व्यवस्थापन तालिम प्रदान गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोग तथा सोडेक नेपालको आयोजनामा संस्थाको कार्यक्षेत्र अन्तर्गत गठित ५ सहकारीलाई तालिम प्रदान गरिएको हो ।

       पुस १२ गते देखि सञ्चालन भएको तालिममा भंगरा, लिमिठाना, पाङ, देउराली, क्याङ र भुकताङलेका ५ सहकारीका अध्यक्ष, सचिव, कोषाध्यक्ष र व्यवस्थापकलाई तालिम प्रदान गरिएको हो । यी गाविसहरुमा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सोडेक नेपालले शिक्षा, आयआर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यस अघि गठन भएका सहकारीलाई पारदर्शीता र चुस्तदुरुस्त राख्ने अभिप्रायका साथ तालिम सञ्चालन गरिएको संस्थाका उद्यम विकास अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए ।

       २० जना भन्दा बढी सहभागी भएको तालिममा संस्थाका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सिना र राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामबहादुर जिसीले प्रशिक्षण दिएका थिए । संस्था मार्फत गठन भएका सहकारी मध्ये भंगरा, लिमिठाना, भुकताङले र देउराली गाविसमा कफि सहकारी सञ्चालन भएका छन् भने क्याङ गाविसमा कृषि सहकारी सञ्चालित छ । सोही कार्यक्रमका अवसरमा क्याङ गाविसमा गठित सहकारीलाई व्यवस्थापन कार्यका लागि आवश्यक सामग्री समेत प्रदान गरिएको संस्थाका शिक्षा विकास अधिकृत ऋषिराम भूसालले जानकारी दिए ।

       संस्थाकी सचिव कविता विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उद्यम विकास अधिकृत रमेशप्रसाद रिजालले गरेका थिए ।

प्रमुख समाचार

भिडियो संग्रह