ताजा अपडेट :

ग्रामीण बस्तीमा सूचनाका लागि अझै पनि कटुवालकै भर

ग्रामीण बस्तीमा सूचनाका लागि अझै पनि कटुवालकै भर  
म्याग्दी ,६ पुस
म्याग्दीको मुदी–३ का ६६ वर्षीय लछुमन किसानले गाउँमा हुने सार्वजनिक सूचनालाई समुदायमाझ पु¥याउने काम गर्छन् । गाउँका कटुवाल रहेका किसानले ‘हाँको’ हालेर सार्वजनिक सूचना प्रवाह गर्दै आएका छन् । मुदीमा मात्रै होइन जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा सूचना प्रवाह गर्ने कटुवाल प्रथा अझै पनि कायमै रहेको छ । सञ्चार र प्रविधिको विकास र विस्तारले सिङ्गो संसारभरका सूचना एकैछिनमा पाउन सकिने आधुनिक युगमा पनि सार्वजनिक महत्वका सूचना, सन्देश र जानकारी लिन जिल्लाको दुर्गम वस्तीका बासिन्दा भने कटुवालकै भर पर्नुपर्ने बाध्यतामा रहेका छन् ।

 सहरी क्षेत्रमा टेलिफोनसँगै इमेल र इन्टरनेटको पहुँचले सामाजिक सञ्जालहरू मार्फत एक ठाउँका सूचना अर्को ठाउँमा सहजै पुग्ने गरेपनि जिल्लाको अधिकांश ग्रामीण बस्तीमा सामाजिक काम, भेला, बैठक र निर्णय सार्वजनिक गर्न कटुवालहरू सूचना सम्प्रेषणको माध्यम बन्ने गरेका छन् । पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमको विस्तारसँगै हातहातमा मोबाइल र सहरबजारमा इमेल इन्टरनेटको सुविधाले प्रविधि मार्फत सूचना प्रवाह हुने गरेपनि दुर्गम र ग्रामीण बस्तीहरूमा यी साधनको सहज पहुँच नहुँदा स्थानीय बासिन्दाका लागि लागि कटुवालहरू नै सूचना प्राप्त गर्ने भरपर्दो स्रोत बनिरहेका छन् ।


जिल्लाको दर्जनौँ गाउँबस्तीमा अहिलेपनि कटुवालबाट सार्वजनिक सूचना जारी गर्ने गरिन्छ । मुदीमा विगत ३४ वर्षदेखि गाउँमा कटुवाल काम गर्दै आएका किसानले गाउँमा हुने विभिन्न सार्वजनिक तथा सामाजिक सूचनालाई गाउँको अग्लो ठाउँबाट हाँको हालेर समुदायसम्म पु¥याउने गर्छन् । उनले कटुवाल काम गरेबापत हरेक घरबाट वर्षको पाँच माना अन्न उठाउने गर्छन् । गाविसले समेत हाँको हालेबापत पारिश्रमिक दिने गरेको किसानले बताए । “पहिले देखि नै यही काम गरें, गाउँलेले दिने अन्न र गाविसले दिने पैसाले नै गुजारा चलाउँदै आएको छु, हाँको हाल्दा हाल्दै बुढो भइसकेँ,” किसानले भने । सामान्य मोबाइल फोनको समेत सहज पहुँच नपुगेकाले विभिन्न बैठक, भेला, छलफल, अन्र्तक्रिया, श्रमदान लगायतको सूचना समुदायसम्म पु¥याउन कटुवालमार्फत हाँको हाल्ने गरिएको मुदी गाविसका प्रविधिज्ञ नगेन्द्रप्रसाद गौतमले बताए ।


 “भौगोलिक विकटताले गर्दा यस क्षेत्रमा सञ्चार र प्रविधिको पहुँच पुगेको छैन, गाविसमार्फत सार्वजनिक सूचना प्रवाह गर्दा परम्परागत रूपमा हुँदै आएको कटुवाललाई नै लगाउँदै आएका छाँै, यसबापत गाविसले कटुवाललाई केही सहयोग समेत गर्दै आएको छ,” गौतमले भने । दुर्गम बस्ती भएकाले विभिन्न खोप कार्यक्रमबारे समेत समुदायलाई कटुवालमार्फत नै सूचना प्रवाह हुने गरेको गाविसकी सामाजिक परिचालक एलिना रोकाले बताइन् । मुदी गाविसका सबै गाउँबस्तीमा सार्वजनिक सूचना पु¥याउने जिम्मा कटुवालकै हो । कुनै जानकारीलाई समुदायमा पु¥याउनु प¥र्यो भनेर खबर आएपछि कटुवालहरूले सबैले सुन्न सक्ने गरी आवाज निकालेर सूचना प्रवाह गर्ने गर्छन् । मुदी गाउँमा मात्रै होइन जिल्लाको केही सहरी बस्ती बाहेक अधिकांश जसो गाउँबस्तीमा कटुवाल कार्यरत छन् ।

 गाउँलेहरूले आन्तरिक व्यवस्थापनबाट राख्ने कटुवालहरूले वर्षौंदेखि सूचना बाहकको रूपमा काम गर्दैआएका छन् । दोबा–६ का श्यामलाल परियारले वर्षौदेखि गाउँमा कटुवाल काम गर्दै आएका छन् । गाविसमा हुने विभिन्न कार्यक्रम, भेला, सभा लगायतको विषयमा गाविस अध्यक्षले निर्देशन दिएपछि आफूले हाँको हालेर सूचना प्रवाह गर्ने गरेको परियार बताउँछन् ।

    “मैले पहिलेदेखि नै यो पेसा गर्दै आएको छु, यो पेसा गरेबापत वर्षमा एकपटक गाउँका हरेक घरधुरीले एक पाथी अन्न दिन्छन, त्यसैबाट दैनिकी चलाउँदै आएको छु,” सिङ्गो दोवा गाविसका कटुवाल रहेका परियारले भने ।

प्रमुख समाचार

भिडियो संग्रह