ताजा अपडेट :

सुनसान बन्दै कुश्माबजार, गाउँमा चहलपहल

सुनसान बन्दै कुश्माबजार, गाउँमा चहलपहल
पर्वत २२,असोज  
नेपालीहरुको महान पर्व बिजयादशमी घर आगनीमा छाइरहेको छ । दशैको टिकाको साईत नजिकिदै जाँदा पर्वत सदरमुकाम कुश्माबजार सुनसान बनेको छ । विभिन्न रोजगारी र व्यापार व्यावसाय गर्नका लागि सदरमुकाममा बस्नेहरु आफ्ना आफन्तजनबाट टिका थाप्नका लागि गाउँ गाउँ गएपछि सदरमुकाम सुनसान जस्तै बनेको हो ।
बजारमा अधिकांस पसलहरु बन्द भएका छन् भने मानिसको समेत चहलपहल निक्कै कम रहेको छ ।  दशै बाहेक अन्य समयमा सार्वजनिक  बिदा हुँदा समेत सुनसान बन्ने कुश्माबजार यतिवेला झनै रित्तिएको हो । व्यापार व्यावसाय गर्नेहरु पनि पसल बन्दै गरेर भएपनि गाउँ गएपछि किनमेल गर्ने ग्राहक पनि सदरमुकाममा कम आएका छन् । यस वर्ष सवारीसाधानहरु पनि कमैमात्रामा संचालन भएकाले पनि सदरमुकाममा किनमेल गर्न आउनेको संख्या घटेको पर्वत उद्योग बाणिज्य संघका महासचिब ठाकुरवि पौडेलले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा भन्दा यतिवेला गाउँ गाउँमा चहलपहल बढ्न थालेको छ । रोजगारी तथा विभिन्न पेशा व्यावसायमा गाउँबाट बाहिरीएकाहरु यतिवेला मान्यजनबाट टिका र आशिर्वाद थाप्न गाउँ गएकाले गाउँमा चहलपहल बढेको हो । गाउँमा बाँवीयोको लिङ्गेपिङ हाल्ने, सामुहिक रुपमा खसीबोका काटेर मासु खाने तथा लामो समय भेटघाट नभएका साथीभाईहरुपनि दशैमा गाउँ फर्केकाले रमाईलो बातावरण बनेको पर्वतको ठुलीपोखरीका राजुकुमार सापकोटाले बताउनुभयो । उहाँले यतिवेला बजारमा भन्दा गाउँमै बस्न रमाईलो रहेको बताउनुभयो । उहाँका अनुसार बजारमा अभाव र महङ्गी बढि भएका बेला केहि दिन गाउँमा बस्दा राहात महसुस मिल्ने भएको छ ।  

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह