ताजा अपडेट :

म्याग्दीको विकासमा सघाउन घोषणापत्र

म्याग्दीको विकासमा सघाउन घोषणापत्र
असोज २२ म्याग्दी
प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्र्रवासी नेपाली सङ्घ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको प्रथम साधारणसभा नौबुँदे घोषणापत्र जारी गर्दै बिहीबार बेनीमा सम्पन्न भएको छ । मोनाको १८ वटा देशका ५६ जना प्रतिनिधिको सहभागितामा दुई दिनसम्म चलेको साधारणसभाले विदेशमा आर्जित पँुजी, सीप, प्रविधि र क्षमतालाई जन्मभूमिको सामाजिक तथा आर्थिक विकासमा लगानी गरी जिल्लालाई समृद्ध बनाउन सघाउने निर्णय गरेको छ । धार्मिक, लोकसंस्कृति, पर्यटन, तातोपानी कुण्डलगायत सम्भावनाको पहिचान गरी ती क्षेत्रको विकासका लागि स्थानीयवासी, प्रवासी र विदेशीको लगानी भित्र्याउने निर्णय भएको मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनुभयो ।
    जन्मथलोको विकासका लागि रोजगारी सिर्जना हुने क्षेत्रमा विदेशमा भएको आम्दानी भित्र्याउने घोषणापत्रमा उल्लेख छ । जिविसले सबै बस्तीमा इन्टरनेट सेवा विस्तार गर्न सुरु गरेको योजनाका लागि हालसम्म ५० लाख रुपैयाँ जुटाइएको र थप रकम सङ्कलन कार्यलाई निरन्तरता दिने मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी गराउनुभयो ।

 
    म्याग्दीलाई कृषि, पशुपालन, पर्यटन, जडीबुटी, जलविद्युत् र खनिज स्रोतको परिचालन गरी समृद्ध र आत्मनिर्भर बनाउने घोषणा गरिएको छ । साधारणसभाले जिल्लाका विपद्पीडितलाई राहत र मानवीय सेवा तथा परोपकारी कार्यका लागि आकस्मिक कोष निर्माण गर्ने निर्णय पनि गरेको छ । जन्मथलोको विकासका लागि गैरआवासीय नेपाली सङ्घ, जिल्लास्थित सरकारी र स्थानीय निकायसँग समन्वय गर्ने घोषणा गरेको मोनाले संस्थागत विकासलाई अघि बढाउने र विधानका केही बुँदामा संशोधन गरेको जनाएको छ ।
    प्रवासीले मोनामार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य, विपन्नको उपचार, सूचना प्रविधिको पहुँच विस्तारका साथै पूर्वाधार निर्माणमा बर्सेनि करोडौँको सहयोग भित्र्याएका छन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह