ताजा अपडेट :

तल्लो मोदी जलविद्युत आयोजनामा सेयर किन्नेको आकर्षण

तल्लो मोदी जलविद्युत आयोजनामा सेयर किन्नेको आकर्षण

६ असोज पर्वत

जिल्लामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाको सेयर जिल्लावासीका लागि  खुलाएपछि आवेदन फाराम भर्नेको भीड लागेको छ । निर्माणको तयारी भएको साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजना सहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले  सर्वसाधारणलाई सेयर खुला गरेको हो ।

पर्वत सदरमुकाम कुश्माबजारमा शाखा रहेको देव विकास बैंकबाट मात्रै सेयर फारम खरिद गर्न र भर्न मिल्ने भएकाले बिहानैदेखि बेलुकी अबेरसम्म भीड लाग्ने गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत प्रत्यक्ष प्रभावित पर्वतका बासिन्दालाई लक्षित गरी १ सय दरका ११ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि गत भदौ २८ देखि असोज ९ सम्म खुला गरेको छ ।

 सेयर खुला भएको दिनदेखि नै भीड बढेको बैंकका प्रबन्धक केदारनाथ आचार्यले बताउनुभयो  । उहाँले देव विकास बैंकबाट मात्रै बुधवारसम्म १० हजार भन्दा बढि फारम गैसकेको र झण्डै १५ करोडको हाराहारीमा रकम समेत जम्मा भैसकेको जानकारी दिनुभयो । यस वाहेकर युनाईटेड मोदी हाइड्रोपावरको कार्यालयवाट पनि फारमहरु वितरण भैरहेका छन् । शेयर किन्नका लागि दैनिक २ सय देखि तीन सय जना सम्म बैंकमा आउने गरेका छन् । विहानैदेखि गाउँ गाउँदेखि सर्वसाधारणहरु पैसा बोकेर बैंक शेयर किन्नका लाग लाईन बस्ने गरेको आचार्यले बताउनुभयो । बैंकमा जम्मा भएका फाराम व्यवस्थित गर्न थप कर्मचारी समेत मगाएको उहाँले बताउनुभयो ।


सेयरमा देखिएको उत्साहले हौसला मिलेको युनाइटेड मोदी हाइड्रोपावरका प्रवन्ध निर्देशक उपेन्द्र गौतमले बताउनुभयो । उहाँले असोज ९ गते भित्रनै मागअनुसार भन्दा बढि फारमहरु भरिने भएकाले समय थप नहुने बताउनुभयो । ‘जनताको उत्साह देखेर अचम्ममा परेका छौं,’ उहाँले भन्नुभयो, ‘अन्तिमसम्ममा मागेभन्दा पनि दोब्बर आवेदन पर्ने सम्भावना बढेको छ । अहिले खुला गरिएको सेयर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्युत् आयोजना बी समेतका लागि हिस्सेदार हुने कम्पनीले जनाएको छ ।


पर्वतमा निर्माणाधीन आयोजनामध्ये सर्वसाधारणका लागि सेयर खुला गरेको यो पहिलो हो । यसअघि निर्माण सम्पन्न दुई र निर्माणाधीन दुई आयोजनाले प्रभावित सर्वसाधारणका लागि सेयर बिक्री गरेका छैनन् । आफ्नै जिल्लामा उत्पादन हुन लागेको आयोजनामा लगानी गर्न पाउँदा अपनत्व बढ्ने भएकाले सकेजति लगानी गर्न स्थानियले सक्रियता देखाएको पाईएको छ । ‘जलविद्युत्मा गरेको लगानी कहिल्यै खेर जान्न भन्ने सुनेको छु,’ सेयर खरिद गर्न आएका एक व्यक्तिले भने , ‘सकेको लगानी गरे पछिका लागि आम्दानीको बाटो होला भन्ने छ ।’


युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे १० मेगावाटको दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसअघि २०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव मूल्यांकन सुरु गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना सुरु गर्न लागेको जनाएको छ ।  दोस्रो आयोजनाका लागि सम्पूर्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो । आयोजनाको लागत २ अर्ब ४५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको निर्देशक गौतमले जानकारी दिनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह