ताजा अपडेट :

माझफाँटमा एक घर एक धारा विस्तार योजना अन्तिम चरणमा

माझफाँटमा एक घर एक धारा विस्तार योजना अन्तिम चरणमा
पर्वत, १७पुस

व्यवस्थित शहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । उत्तरी पर्वतको माझफाँट गाविसका ८ सय घरधुरीमा एक घर एक धारा विस्तार गरिने भएको हो । गाविसमा संचालित पुङ्दीखोला खानेपानी तथा सरसफाई आयोजना मार्फत गाउँका ३ देखि ७ नम्वर सम्मका वडा गरी ५ वटा वडाका सवै घरधुरीमा खानेपानीका धारा निर्माण गरिएको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भैसकेको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतले जनाएको छ ।


अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट बञ्चित बनेका मल्लाजबासिहरु अबभने लाभान्वित हुने भएका छन् । जिल्लाकै दोस्रो ठुलो योजनाको रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताहरुले यूनिटको आधारमा पैसा तीर्न पाउने भएका छन् । उक्त पानी झण्डै १२ किलोमिटर टाढा रहेको पुंङ्दीखोलाबाट ल्याउन लागिएको हो ।
अहिले आयोजनाको काम धमाधम भैरहेको छ । २०६७÷२०६८ बाट शुरु भएको योजना क्रमागत रुपमा रु ४ करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानियले झण्डै ३९ लाख बराबरको श्रमदान गरेका छन्


 पाईपलाई बिस्तार र विभिन्न ट्यांङ्कीहरु निर्माणमा स्थानिय श्रमदान समेत गरिरहेका छन् । भने ८० जना भन्दा बढि मजदुरहरु क्रियाशिल रहेको निर्माण व्यावसायी गिरिजा तिवारीले जानकारी दिए । चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गर्नेगरी धमाधम काम भैरहेको तिवारीले जानकारी दिए । योजनाको लागत अनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उनको भनाई छ ।

 

एक घर एक धारा विस्तार गर्ने सरकारकै निति अनुरुप बृहद खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरफाई डिभीजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । उनका अनुसार योजनालाई चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्नका लागि यस वर्ष ८० लाख रुपैया बिनीयोजन समेत भएको छ । जिल्लाकै ठुलो र नमुना योजना भएकाले व्यवस्थापनका लागि भवन निर्माण समेत गर्ने सोच रहेको छ ।  यो बाहेक पर्वतको फलेवासमा ७ करोड रुपैयाको लागतमा बृहद फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको छ । उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सवैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको कार्यालय प्रमुख डोटेलले बताए । जिल्लाको सवैभन्दा बढि जनसंख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माण पश्चात नमुनाकै रुपमा लिन सकिने उनि बताउँछन् ।

 

    घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयं उपभोक्ता तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर ७ हजार रुपैया तोकिसकेको छ । सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क ३० हजार भन्दा बढि रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि ७ हजार रुपैया तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार सवै उपभोक्ताहरुको सहभागितामा धाराको मुल्य तोकिएको हो ।
    यसैबीच खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आयोजनामा उपभोक्ताहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । तालिममा योजनाको व्यवस्थापन निर्माण कार्यको अवस्था, खानेपानी धारा वितरण, धाराको महसुल लगायत योजनाको समग्र व्यवस्थापनका बारेमा सहजीकरण गरिएको थियो ।

 

 

 

प्रमुख समाचार

भिडियो संग्रह