ताजा अपडेट :

मोटरेबल पुल जिर्ण बन्दा जोखिमपुर्ण यात्रा गर्न बाध्य

मोटरेबल पुल जिर्ण बन्दा जोखिमपुर्ण यात्रा गर्न बाध्य  
पर्वत ,८ पुस

निर्माण भएको झण्डै एक दशक सम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेवल पुल जिर्ण बन्दै गएको छ ।
    समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजार सँग दक्षिण पर्वतका तीन दर्जन भन्दा बढि गाविस जोड्ने एकमात्र सडक दोविल्ला फलेवास– सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल मर्मतको अभावमा जिर्ण बनेको छ । कुश्मा नगरपालिका १२ दोबिल्ला  स्थित मोदीखोला माथि रहेको सो मोटरेवल पुलको समय समयमा मर्मत नहुँदा २ सय मिटर लामो पुल जीर्ण हुँदा सवारी साधन र यात्रुहरु समेत जोखिमपुर्ण रुपमा वारपार गर्न बाध्य भएका छन् ।


    आठ वर्ष अघि बनेको पुलको अधिकांस ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाताहरु उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुबै छेउमा माटो जमेको भएपनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रुहरु जोखिममा परेका छन् । जिल्ला विकास समितिले केही समय पहिलासम्म हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भएपनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जिर्ण बन्दै गएको सवारीचालकको गुनासो रहेको छ ।
    पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडीहरु, डोजर, लोडर लगायतका हेब्भी ईक्युमेन्टहरु समेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पाताहरुमा प्वाल पर्ने समस्या देखिएको व्यावसायी भिम प्रसाद श्रेष्ठले बताएका छन् । उनले भने पुलको अहिलेसम्म मर्मत हुन सकेको छैन । तत्कालीन निर्माण समिति र जिल्ला विकास समितिले समेत मर्मतका लागि चासो नदेखाएको उनको भनाई छ । उक्त सडक हँदै दैनिक पाँच सय सम्म सवारी साधन चल्दै आएका छन् ।


    पुलबाट ३४ गाविसमा प्रत्यक्ष रुपमा यातायात सेवा संचालन हुने गरेको छ । १५ टन भारवहन क्षमता भएको सो पुलमा ओभरलोड गरि लैजाँदा समेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूला ठूला डोजर लोडर जस्ता उपकरणहरु यहिँबाट तार्ने गरेको समेत शर्माको भनाई छ ।
    समय समयमा मर्मत नहुँदा तथा रेखरेख नहुँदा करोडौं खर्चिएर बनाएका यस्ता पूर्वाधारहरु जीर्ण बन्दै गएको साथै यस पुलबाट ओहोर दोहोर गर्ने सयौं सवारी साधनलाई झनै समस्या हुने गरेको यातायात व्यावसायी कृष्ण गौतमले गुनासो गरे ।


    उता जिल्ला विकास समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भएपनि जिर्ण बन्दा समेत मर्मतको काम गर्न नसकिएको बताएको छ । स्थानीय विकास अधिकारी युवराज पौडेलले जिल्लाको महत्वपूर्ण सडकमा रहेको उक्त पुलको मर्मतका लागि हालसम्म कुनै ध्यानकार्षण नभएको र हाल सो सडकको सडक विभागले जिम्मा लिएकाले सोही कार्यालयले मर्मत तथा व्यवस्थापनको काम गर्नुपर्ने भन्दै पन्छिएका छन् । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रुपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह