ताजा अपडेट :

दुर्गम पाउद्वार सडक सञ्जालमा जोडियो

दुर्गम पाउद्वार सडक सञ्जालमा जोडियो
पुस ८,म्याग्दी
म्याग्दीको शिख गाविसको पाउद्वार गाउँ सडक सञ्जालसँग जोडिएको छ । घारखोलादेखि सात किलोमिटर सडकको ट्र्याक निर्माण गरेर शिखको ६, ७, ८ र ९ नम्बर वडामा पर्ने पाउद्वार गाउँलाई सडक सञ्जालसँग जोडिएको हो । जिविस, गाविस र स्थानीयवासीको रु ८० लाखको लागतमा सडक निर्माण भएको घारखोला–पाउद्वार–किन्दु सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण तिलिजाले जानकारी दिनुभयो । विसं २०६८ देखि निर्माण सुरु भएको उक्त सडकमा यसै हप्तादेखि ट्र्याक्टर र जिप सञ्चालन हुन थालेको छ । स्थानीयवासीलाई आवतजावत, कृषि उपज निकासी, निर्माण र खाद्यान्न ढुवानी गर्न सहज भएको छ ।


 खच्चर र भरियामार्फत घारखोलाबाट पाउद्वारसम्म सामान ढुवानी गर्दा प्रतिकेजी रु सात तिर्नुपर्दथ्यो । सडक सुविधा भएपछि रु तीनमा ढुवानी हुन थालेको र दुई घन्टाको उकालो बाटोको यात्रा ३० मिनेटमा छोटिएको पाउद्वार माविका शिक्षक गम पुन रोकाले बताउनुभयो । सडक निर्माणका लागि पाउद्वारका दुईसय ५० घरधुरीले रु आठलाख चन्दा सङ्कलन गरेका थिए । बेलायत र हङकङमा रहेका पाउद्वारवासीले रु २४ लाख सहयोग गरेका थिए भने पोखरा पाउद्वार समाजले पनि सहयोग गरेको अध्यक्ष तिलिजाले बताउनुभयो । यस वर्ष जिविसले निर्वाचन क्षेत्र विकास पूर्वाधार शीर्षकको १५ लाख र शिख गाविसले पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको सो सडकलाई विस्तार गरेर किन्दु जोड्ने लक्ष्य राखिएको छ ।     

पाउद्वारदेखि किन्दुसम्म करिब चार किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी छ । शिख, स्वाँत, किन्दु हँुदै झारवाङ भन्ने ठाउँसम्म सडक पुगिसकेको छ । चार किलोमिटर ट्र्याक निर्माण भएमा शिख गाविसमा चक्रपथ बन्ने गाविस सचिव खेमराज पौडेलले बताउनुभयो । उहाँका अनुसार पाउद्वारसँगै शिखको सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । चक्रपथको योजनाअनुसार घारखोला र स्वाँतखोलामा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढेको छ । निर्माण भएका सडक स्तरवृद्धि योजनालाई प्राथमिकता दिइएको सचिव पौडेलले बताउनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह