ताजा अपडेट :

बर्षातका कारण अवरुद्ध म्याग्दीका ग्रामिण सडक दसै अघिनै खुलाउने तयारी

बर्षातका कारण अवरुद्ध म्याग्दीका ग्रामिण सडक दसै अघिनै खुलाउने तयारी
म्याग्दी ५ असोज । बर्षातका कारण आवरुद्ध भएका म्याग्दीका ग्रामिण सडक दसै अघिनै खुलाउने तयारी भएको छ ।

गत असारदेखि अवरुद्ध भएका सडक मर्मतका लागि जिल्ला विकास समितिले मंगलबार छत्तीस लाख रुपैया बजेट वितरण गरेको छ । स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षतामा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा बसेको बैठकले २८ वटा सडक, एक वटा घोरेटो बाटो मर्मत र एक वटा प्रवेशद्धार निर्माण योजनाका लागि ३७ लाख रुपैया बितरण गर्ने निर्णय गरेको हो ।

    जिविसको मर्मत सम्भार कोषबाट उक्त बजेट बितरण गरिएको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । बर्खा, बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक दसै अघिनै सञ्चालनमा ल्याउन उपभोक्ता समितिसंग सम्झौता गरेर काम अघि बढाइने पौडेलले बताउनुभयो ।

म्याग्दीका अधिकांश ग्रामिण सडक गत असार पहिलो हप्तादेखि अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदा ग्रामिण क्षेत्रका बासिन्दालाई आवत जावत, उपभोग्य सामान, निर्माण सामाग्री ढुवानी र स्थानीय उत्पादन निकासी गर्न समस्या भएको छ । दरवाङ ताकम मुना सडकलाई दुई लाख, १२ वटा सडकलाई एक लाख पचास हजार र १४ वटा सडकलाई एक लाख रुपैयाका दरले बजेट वितरण गरिएको छ ।

एक लाख पचास हजार रुपैयाका दरले बजेट वितरण भएका सडकहरुमा दर्वाङ फुलबारी अधिभारा ओखरबोट सोले, ताराखेत सल्यान भर्जुला हिदी, सिम कोत्रवाङ कुहुँ पूर्णगाउँ, सिमलचौर मिठौला डडुवा पूर्णगाउँ टोड्के, पोक नेटा किमचौर, झिँ पाखापानी कोटगाउँ, महारानीथान छाप डाँडाखेत ठूलोखोला, रत्नेचौर अर्जम भकुण्डे, फुलबारी सौरबोट ओखरबोट, गलेश्वर पिप्ले मौवाफाँट र हाडेभिर बांगेरा पिपलडाँडा भकुण्डे रहेका छन् ।
यसैगरी रातोढुंगा दुखुबेशी दुखु लेक, अर्थूङ्गे भिरमुनी पुलाचौर, तोरीपानी वाखेत झिँ, पाखापानी ठाडाखानी, महारानीथान भराले थाकनपोखरी डाँडागाउ, फलामेडाँडा नागी राम्चे, महभीर घराम्दी, तातोपानी मान्द्रेढुंगा, तिप्ल्याङ बादुक, गलेश्वर काउलेगौडा पात्लेखेत, ठूलागैर चिसापानी अर्जम, थामडाँडा मरेक डोले, घतान कापर स्यानीखेत नेप्टेचौर र पिप्ले बोगटीपौवा रानीपौवा सडकलाई एक लाख रुपैयाका दरले वितरण गरिएको छ ।
भगवतीमा गाविस प्रवेशद्धार बनाउन एक लाख र लुलाङमा घोरेटोबाटो मर्मतका लागि पचास हजार रुपैया बजेट उपलब्ध गराउने निर्णय गरेको जिविसले झोलुङ्गे पुलको लठ्ठा छिनेर आवत जावतमा समस्या भएको धौलागिरी चक्रिय पदमार्गको मर्मतका विषयमा भने कुनै निर्णय गरेको छैन् ।  

 

प्रमुख समाचार

भिडियो संग्रह