ताजा अपडेट :

पर्वतका कृषकलाई पचासवटा यान्त्रिक हलो वितरण

पर्वतका कृषकलाई पचासवटा यान्त्रिक हलो वितरण
पर्वत,पुस ३

केहि वर्ष अघिसम्म प्रत्येक घरमा हलगोरु पाल्ने प्रचलन थियो । कतिपय कृषकहरु एक एक वटा गोरु पालेका दुईजना मिलेर परेली गर्ने, अर्मपर्म गर्ने खेतवारी जोत्ने र बालीनाली सँगै लगाउने पनि गर्दथे । पछिल्लो समय कृषिमा आधुनिक उपकरणहरु भित्रिएसँगै यस्तो खालको परम्परा विस्तारै हट्न थालेको छ ।
गोरु पाल्ने झण्झटलाई आधुनिक उपकरणले विस्थापीत गर्न थालेपछि अहिले गाउँघरतर्फ खेतवारी जोत्ने गोरु समेत लोप हुन थालेका छन् । पछिल्लो समयमा ‘मिनि पावर टेलर’ (यान्त्रिक हलो) भित्रिएपछि गोरु पाल्ने झण्झटबाट कृषकहरुले मुक्ति पाएका हुन् । जिल्ला कृषि विकास कार्यालय पर्वतले निश्चित प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गर्न थालेपछि अहिले पर्वतका कृषकहरुको आकर्षण त्यसतर्फ बढ्न थालेको छ ।
एकै दिनमा धेरै जमिन जोत्न सकिने र वर्षभरी गोरुको पालनपोषण गर्ने झण्झट समेत नहुने भएपछि यसतर्फ कृषकहरुको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । विगत चार वर्षदेखि जिल्लामा यान्त्रिक हलो भित्रिएपछि कृषकहरुको बढि आकर्षण देखिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । अहिले यान्त्रिक हलोको माग गर्दै जिल्ला कृषि विकास कार्यालयमा सयौ कृषकहरुले निवेदन दिएको उहाँले बताउनुभयो ।
    चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयले ५० वटा मिनि पावरटेलर वितरण गरेको छ । कृषकको ५० प्रतिशत र कार्यालयको ५० प्रीतशत अनुदानमा ५० वटा पावरटेलर पवितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो । गत वर्ष २२ स्थानमा यान्त्रिक हलो वितरण गरिएको थियो । केहि गाविसहरुमा ट्याक्टरहरुनै प्रयोग गर्ने भएपनि भिरालो जमिनमा र सडकको पहुँच नपुगेका क्षेत्रबाट यसको माग बढि आएको रेग्मीले जानकारी दिनुभयो । एउटा मिनि पावर टेलरलाई न्यूनतम ७० हजार रुपैयादेखि ७५ हजार रुपैया सम्म मुल्य पर्छ । त्यो मध्ये कार्यालयले ५० प्रतिशत अनुदान र ढुवानी समेत निशुल्क रुपमा गर्दै आएको रेग्मीले जानकारी दिनुभयो ।
    अहिले व्यावसायीक रुपमा तरकारी तथा फलफुल खेतीगर्ने र कृषि उपजहरुको बढि सम्भावना भएका क्षेत्रहरुलाई प्राथमिकता दिएर वितरण गरिएको छ । यस वर्ष वितरण गरिएकासँगै जिल्लाभरमा एक सय ५० को संख्यामा मिनि पावर टेलर रहेका छन् । थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषहरुले यान्त्रिक हलो भित्राउन थालेका हुन् । गोरुबाट एक हल जोत्नुपरेमा १५ सयसम्म खर्च हुने तर यान्त्रिक हलोले १ घण्टामा १ हल गोरुले गर्ने काम गर्ने तथा ५ सय रुपैया मात्र खर्च लाग्ने भएकाले यान्त्रिक हलोबाट जोताउनेहरुको संख्या बढ्दै गएको हो ।
    गाउँमा १ वटा यान्त्रिक हलो भएमा ५० घरधुरीले उपयोग गर्न सक्ने भएकाले समूह मार्फत गाउँ गाउँमा भित्राउने क्रम समेत बढेर गएको कार्यालयले जनाएको छ ।
    १ हल गोरुको स्थानीय बजारमा ३० हजार देखि ४५ हजारसम्म पर्ने र पाल्न समेत झण्झट हुने भएकाले गोरु पाल्नु भन्दा पावर टेलर किन्दा सस्तो र सजिलो हुने भएकाले यसतर्फ आकर्षित भएको चुवाका कृषक विष्णुप्रसाद भुवाँजीले बताउनुभयो । पेट्रोल र डिजेल दुबै ईन्धनबाट चल्ने भएपनि कृषकहरु भने डिजेलबाट चल्ने हलो प्रति आकर्षित छन् । डिजेलबाट चल्ने हलो टिकाउ र ईन्धन समेत कम खाने भएकाले सजिलो भएको कृषक भुवाँजीले बताउनुभयो । कतिपय कृषकले व्यक्तिगत रुपमै प्रयोग गर्ने गरेका छन् त कतिपयले भाडामा समेत लगाउने गरेका छन् । प्रति घण्टा यान्त्रिक हलोको भाडा ५ सय रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वत तथा कृषकहरुको आफ्नै पहलमा जिल्लाको पाङ, खुर्कोट, चुवा, शिवालय, नाङलीवाङ, धाईरिङ्ग, माझफाँट, भोक्सीङ, ठुलीपोखरी, हुवास, त्रिवेणी, बर्राचौर, भुकताङ्ले, पाङराङ, लगायतका गाविसहरुमा यान्त्रिक हलो भित्रिएपछि कृषकहरुलाई सहज भएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताउनुभयो । अहिले बजारमा विभिन्न कम्पनीहरुले ५ देखि १२ हर्ज पावरसम्मका यान्त्रिक हलोहरु बेचविखन भैरहेका छन् ।  

 

प्रमुख समाचार

भिडियो संग्रह