ताजा अपडेट :

पोल कुहिन थालेपछि दुर्घटनाको त्रास

पोल कुहिन थालेपछि दुर्घटनाको त्रास
म्याग्दी,३० मंसिर

म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् । विसं २०५४ मा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–४ बगरफाँटमा अहिले सबै पोल कुहिएको अवस्थामा रहेका छन् ।

हालसम्म पनि पुराना काठेपोल नफेरिँदा स्थानीयवासी जोखिममा परेका हुन् । ‘गाउँभरिका सम्पूर्ण पोलको अवस्था अत्यन्त नाजुक रहेको छ, तार खेतमा छरिएका, रुखमा छोइएका छन्’ स्थानीय नारायण कार्की भन्नुहुन्छ “काठेपोलले ज्यानको जोखिम बढाएको छ, सम्बन्धित निकाय र उपभोक्ता समितिको लापरबाहीका कारण विद्युत् उपभोगमा समस्या आएको छ ।” बगरफाँटमा रहेका ६० पोलमध्ये लगभग सबै पोल कुहिएको अवस्थामा रहेका छन् । विद्युत् ल्याउने समयमा नै पोलको उचित व्यवस्थापन नगरी अव्यवस्थित रुपमा पोल गाडिएको र अहिले भाँचिने अवस्थामा पुग्दा पनि विद्युत प्राधिकरण तथा सरोकारवालाले कुनै पहल नगरेको गुणासो स्थानीयवासीको छ ।

 ‘जिल्लाका विभिन्न ठाउँमा एक हजार दुई सय भन्दा बढी काठेपोल रहेका र तिनको अवस्था दयनीय रहेको विद्युत् प्राधिकरण म्याग्दीका प्रमुख सीताराम शाहले बताउनुभयो । प्रमुख शाहका अनुसार अब काठेपोल प्रयोग गर्न नपाइने भएकाले एक÷दुई वर्षभित्रमा सबै काठेपोल फेरेर फलामे पोल गाड्ने प्राविधिकरणको योजना रहेका छन् । एक नगरपालिका र ३५ वटा गाविस रहेको म्याग्दीमा अहिलेसम्म बेनी नगरपालिकासहित १९ वटा गाविसमा विद्युतीकरण भएको प्रमुख शाहले बताउनुभयो ।


प्रमुख शाहका अनुसार गतवर्ष एक हजार फलामको पोल गाउँमा विस्तार गरिएको छ । चालु आवमा बजेट कम भएको हुँदा गत वर्षको भन्दा कम फलामे पोल प्राप्त हुने भएकाले सबै ठाउँमा उपलव्ध गराउन कठिन हुने प्रमुख शाहले बताउनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह