ताजा अपडेट :

ग्रामिण क्षेत्रको विकासलाई प्राथमिकता दिन माग

ग्रामिण क्षेत्रको विकासलाई प्राथमिकता दिन माग
म्याग्दी २७ कात्तिक

बेनी नगरपालीकाको ९ र १० नम्बर वडाका सरोकारवालाहरुले ग्रामिण क्षेत्रको विकासमा प्राथमिकता दिन माग गरेका छन् ।

    बेनी नगरपालीका कार्यालयले शुक्रबार नेप्टेचौरमा आयोजना गरेको कार्यक्रममा सहभागि सर्वसाधारणले बजार र ग्रामिण क्षेत्रलाई विकासमा समान प्राथमिकता दिनुपर्ने माग गरेका हुन् ।
    उनिहरुले १० नम्बरको छुट्टै वडा कार्यालय स्थापना गर्नुपर्ने, ढोलथान, धुपीबोट, ढावा र छापमा खानेपानीको समस्या भएको पछै, ढोलथानलाई सडकले जोड्नुपर्ने तथा हाल रहेका सडकको स्तरवृद्धी गर्नुपर्ने बताएका थिए ।

    यसैगरी तत्कालीन घतान गाउँ शिक्षा र खानेपानी, सरसफाई समन्वय समितिको खातामा रहेको रकम परिचालन गर्नुपर्ने, सहज रुपमा सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन् ।

    विषयगत कार्यालय र गैरसरकारी संस्थाले नगरपालीका तथा वडा कार्यालयसंग समन्वय गरेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागिको भनाई थियो । घतानका बासिन्दाले स्थानीय विकास कोष मार्फत परिचालन भएको पाँच लाख रुपैया भन्दा बढी बजेट उठ्न नसकेको र युवा लक्षित कार्यक्रमको अभाव भएको गुनासो गरेका छन् ।

    सहभागीले गरेको गुनासोको उत्तर दिदै बेनी नगरपालीका कार्यालयका कार्यकारी अधिकृत छवीलाल सुवेदीले विकासमा सबै क्षेत्रलाई समान प्राथमिकता दिएको बताउँदै स्थानीय स्तरमा जनसहभागीता जुटाउने वातावरण बनाउन अनुरोध गर्नुभयो ।

    उहाँले सहज रुपमा सेवा सुबिधा प्रवाह गर्न प्रयास गरेको बताउँदै भवन आचार संहिता र सडक मापदण्ड पालना गर्न सचेत बनाउनुभयो । कार्यालयका ईञ्जिनियर बिमल कार्की, नगर संयन्त्रका प्रतिनिधि अनोद श्रेष्ठ, सुर्यप्रकाश बानिया (सागर), पशु सेवा केन्द्रका नारायण दर्लामी लगायतले सहभागिले सोधेका प्रश्नको उत्तर दिनुभएको थियो ।

    कार्यकारी अधिकृत सुवेदीको अध्यक्षता, कार्यक्रम अधिकृत सोविता शर्माको सञ्चालन, ईञ्जिनियर कार्कीको स्वागत र पत्रकार सन्तोष गौतमको सहजिकरणमा सम्पन्न कार्यक्रमको उद्देश्यका बारेमा संगम म्याग्दीका कार्यक्रम संयोजक सन्तोष ढुंगानाले प्रकाश पार्नुभएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह