ताजा अपडेट :

किवी खेतीबाट कृषक उत्साहीत

किवी खेतीबाट कृषक उत्साहीत

पर्वत कार्तिक २७

पर्वतको लेकफाँट १ रात्माटामा परिक्षणका लागि गरीएको किवी खेती सफल भएपछि कृषक उत्साहीत भएका छन् । उच्च पहाड फलफुल स्रोत नर्सरीका सञ्चालक यज्ञप्रसाद सुवेदीले पाँच वर्षअघि १० रोपनी जमिनमा लगाउनु भएको १६० बोट किवीले फल दिन थालेपछि त्यहाँका अन्य कृषकले समेत किवी खेती विस्तार गर्न थालेका छन् ।      गत वर्ष दुई क्विन्टल किवी उत्पादन भएको सो फार्ममा यस वर्ष पाँच क्विन्टल किवी फलेको छ । सुवेदीले त्यहाँ किवी र अलैचीको बिरुवा समेत उत्पादन गर्दै आउनु भएको छ । गत वर्ष चार हजार १०० बिरुवा बिक्री गर्नुभएका सुवेदीको नर्सरीमा यस वर्ष थप पाँच हजार बिरुवा तयार भएका छन् ।


परिक्षण सफल भएपछि लेकफाँट, शालीजाका साथै म्याग्दीको राम्चेलाई किवी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्न अभियान चलाइएको सुवेदीले बताउनुभयो । लहरा प्रजातीको किवी समुद्रि सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाईको भुगोलमा खेती गर्न सकिन्छ ।स्वादीलो, धेरै पौष्टिक तत्ब पाईने र स्वस्थ्यकर मानिने किवीको मुख्य उपभोक्ता पर्यटक, बिदेशमा रहेका र त्यहाँबाट फर्कीएका नेपालीहरु हुन् । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किवी प्रतिकिलो चार सय रुपैयाका दरले बिक्री हुने गरेको छ । न्युजील्याडको प्रमुख फलफुल मानिने किवी नेपाली उपभोक्ताका लागि नयाँ फलफुल हो ।

 

सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको प्रति बिरुवाको सरदर बजार मूल्य तिन सय रुपैया रहेको छ । कृषि विकास कार्यालय पर्वतसंग सहकार्य गरेर उहाँले किवी र अलैचीको नर्सरी सञ्चालन गर्नुभएको हो । किवीले चालीस वर्षसम्म फल दिन सक्ने कृषि प्राबिधिकहरुले बताएका छन् ।

 

डेढ सय बोट सुन्तला र दश रोपनीमा अलैची खेती गर्नुभएका सुवेदीले किबीको बगैचा र नर्सरीमा आवश्यक पर्ने सिचाईका लागि बनाएको पोखरीमा कमन र ग्रास कार्प जातको माछा पाल्नुभएको छ । उहाँले जण्डीस र स्त्रीरोगको उपचारमा प्रयोग हुने पेटीना मल (गमले स्याउ) जातको जडिवुटीको ब्यवसायीक खेती र नर्सरी समेत स्थापना गर्नुभएको छ ।   पुर्व गाविस अध्यक्ष समेत रहनुभएका बाम राजनितिमा आवद्ध सुवेदी आफ ब्यवसायीक कृषि पेशामा लाग्नुको उद्देश्य स्थानीय स्तरमै स्वरोजगार बन्न युवाहरुलाई सन्देश दिने रहेको बताउनुहुन्छ ।  किवी फार्म स्थापनाका लागि उहाँले करिब पाँच लाख रुपैया लगानी गर्नुभएको थियो ।

 

प्रमुख समाचार

भिडियो संग्रह