ताजा अपडेट :

पर्वतमा पहिलोपटक भित्रियो मिनिथ्रेसर मेशिन

पर्वतमा पहिलोपटक भित्रियो मिनिथ्रेसर मेशिन
पर्वत,२५ कार्तिक
ग्रामीण क्षेत्रका कृषकहरुलाई धान ठटाएर भित्र्याउन सहज होस् भन्ने उद्धेश्यले पर्वतमा पहिलोपटक मिनिथ्रेसर मेशिन भित्रिएको छ ।  

गाउँ गाउँमा कृषकहरुलाई धान थन्क्याउने भ्याईनभ्याई भएका बेला जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा पाँच वटा मिनिथे्रसर मेशिन भित्र्याएको हो । ५० प्रतिशत अनुदानमा कृषकलाई मेशिन उपलव्ध गराइने भएको छ । अहिले एउटा मिनिथ्रेसरको मुल्य ९० हजार रुपैया रहेको छ ।

उक्त मिनिथ्रेसरमार्फत धान ठटाउँदा थोरै समयमा धेरै धान थन्याउन सकिने, थोरै जनशक्तिले पुग्ने र सिमीत ठाउँमा धान रहने भएकाले पोखिने र छिरलिने समस्या समेत नहुने भएकाले यस तर्फ कृषकको आकर्षण बढ्न थालेको हो । जिल्लामा पहिलोपटक भित्रिएका पाँच थान मेशिन कृषकको माग अनुसार विभिन्न क्षेत्रमा वितरण गरिने भएको छ । जिल्लाको चुवा, कुटुवाचौपारी, फलेवास, पाङ लगायत मुख्य रुपमा धानखेती उत्पादन हुने क्षेत्रमा कृषकको माग अनुसार वितरण गरिने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । जनशक्तिको अभावमा अहिले गाउँ गाउँमा समयमै धान थन्क्याउन कृषकहरुलाई समस्या परेका बेला उक्त मेशिन भएपनि काटेर थुपारेको धान एउटै व्यक्तिले मेशिनमार्फत झाट्न सक्ने भएको छ ।

कम समय, कम जनशक्तिमा धेरै काम गर्न सकिने र एकै दिन दशौ मुरीसम्म धान झार्न सकिने भएपछि कृषकहरुका निम्ति फलदायी हुने बरिष्ठ कृषि विकास अधिकृत रेग्मीको विश्वास रहेको छ । अहिले  गाउँमा सवै कृषकको घरमा धान थन्याउने चटारो छ जनशक्ति पाईदैन, पाईहाल्यो भने पनि न्यूनतम ५ सय रुपैयादेखि १ हजार रुपैया सम्म तिर्नुपर्ने बाध्यता छ त्यस्ता ठाउँहरुमा मिनिथ्रेसर मेशिनको प्रयोग गर्न सकिने पनि उनको भनाई छ ।
शुरुवातमा पाँच वटा मात्र खरिद गरिएको र कृषकको माग अनुसार आगामी वर्ष थप गरिने पनि कार्यालयले जनाएको छ । उक्त मेशिनले धान मात्र नभएर गहुँ झार्न अझै सहज हुनेभएको छ । अन्य वालीभन्दा बढि झण्झटीलो मानिने गहुँ झार्नका लागि मेशिन झनै उपयोगी हुने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक रामकृष्ण अर्यालले जानकारी दिए । खेतवाट फेदबाटै काटेर घरमा ल्याउने र मेशिनमार्फत झार्न अझै सहज हुन्छ उनले भने । वर्षमा धानखेती थन्याउने बेला र गहुँ वाली पाक्ने बेलामा उक्त मेशिन बढि उपयोगी हुने भएको छ ।
पर्वतमा ९ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बार्षिक रुपमा २५ हजार ४२ मेट्रिकटन धान उत्पादन हुने पर्वतमा धौलागिरिमै बढि धान उत्पादन हुने जिल्ला रहेको छ । त्यस्तै २ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । जसवाट ६ हजार ४ सय २० मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । व्यावसायीक रुपमा र बढि मात्रामा धान र गहुँ उत्पादन हुने क्षेत्रमा मिनि थ्रेसर मेशिनको प्रयोगले उत्पादन लागत घटाउने बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।


पर्वतमा पछिल्लो समय जमिन बाँझो नराख्ने अभियान थालिएपछि धान रोप्ने जमिनको क्षेत्रफलमा पनि बृद्धि भएको छ । आर्थिक वर्ष ०७०÷७१ मा ९ हजार २१ हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले आएर ९ हजार ६ सय १२ हेक्टरमा धान खेति गरिएको कार्यालयको तथ्यांकमा उल्ल्ेख गरिएको छ । पहिल्लो समय जग्गा बाँझो राख्नेहरुलाई जिल्ला विकास समिति, कुश्मा नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले बाँझो जमिनको जरिबाना तिर्नुपर्ने व्यवस्था समेत पर्वमा लागु भएको छ ।

प्रमुख समाचार

भिडियो संग्रह