ताजा अपडेट :

पर्वतमा धान र सुन्तला उत्पादन दश÷दश प्रतिशतले बढ्ने

पर्वतमा धान र सुन्तला उत्पादन दश÷दश प्रतिशतले बढ्ने
पर्वत,२४ असोज
पर्वत जिल्लामा उत्पादन हुने दुई मुख्य बालीको यस वर्ष उत्पादन बढ्ने भएको छ ।
        जिल्लाको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धान र नगदेबालीको रुपमा जिल्लाबाट सवैभन्दा बढि निर्यात हुने फलफुल सुन्तलाको उत्पादन १०÷१० प्रतिशतले बृद्धि हुने भएको हो ।
        गत वर्ष ५ प्रतिशतले उत्पादन घटेको धान यस वर्ष अनुकुल मौसमका कारण १० प्रतिशतले बृद्धि भएको हो ।     जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष समयमै रोपाई गर्न पाएको र अनुकुल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो ।
        धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाई र पछिल्लो समयसम्म निरन्तर         परेको बर्षाका कारण उत्पादन बढ्ने देखिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । थन्याउने बेला सम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ । उहाँले भन्नुभयो । यस वर्ष कृषकले साउनको पहिलो साताभित्रै रोपाई गरेर सकेका थिए । पर्वतका कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ ।


        पर्वतका किसानहरुले धानलाई आफूहरुको प्रमुख बालीका रुपमा लिनेगरेका छन् । धान खेती गर्दै आइरहेका किसानहरुले धान बाहेक मकै, कोदो, गहुँ लगायतको खेती गर्दै आइरहेको भए पनि धानलाई नै प्रमुख बालीका रुपमा लिनेगरेका छन् ।

        पर्वतमा रहेको करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । पर्वतका अधिकांस क्षेत्रफलमा अहिले पनि आकासे पानीको भरमा धान खेती हुँदै आइरहेको छ ।
    अहिले पनि अधिकांस किसानहरुले धान रोप्न छोडेर खेतबारी बाँझै राख्नेगरेका छन् । सबै क्षेत्रफलमा खेती गर्नका लागि किसानहरुलाई व्यवसायिक सिप र तालिमको खाँचो रहेको कृषि कार्यालयको भनाई रहेको छ ।

        यसैगरी यस बर्ष पर्वतमा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ ।     अनुकुल मौसम, सुन्तला खेती बिस्तार तथा सुन्तलाको पुरानो बगैचा सुधार गरिएका कारण उत्पादनमा बृद्धि हुने अनुमान गरिएको हो । गत वर्ष झण्डै ४ हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष पाँच हजार मेट्रिक छन भन्दा बढि उत्पादन हुने अनुमान गरिएको  हो । पर्वतमा ७ सय  हेक्टर भन्दा बढि क्षेत्रफलमा सुन्तला खेती गरिदै आइएको कार्यालयले जनाएको छ ।

        जिल्लाका मुख्य सुन्तला पकेट क्षेत्रहरुमा यस बर्ष उत्पादन बढेको छ । बाँसखर्क, शलिजा, देउपुर, तिलहार, कुर्घा, लिमीठाना, पाङराङ, त्रिबेणी, हुवास,सरौखोला क्षेत्रमा उत्पादनमा बृद्धि भएको कृषकहरुले बताएका छन । जिल्लाको सुन्तला उत्पादनको हुने बाँसखर्क र देउपुर गाविसमा यस बर्ष सबैभन्दा बढी सुन्तला उत्पादन बढ्ने देखिएको छ ।
    पर्वतमा सबैभन्दा बढी सुन्तला फल्ने बाँसखर्क गाबिसमा पनि यस बर्ष उत्पादनमा २० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको हो ।

        पर्वतको सुन्तला पोखरा हुदै चितवन, काकडभित्ता, बुटवल लगायतका शहरहरुमा निर्यात हुदै आएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न  ब्यापारीहरु आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको कृषकहरुको भनाई छ । पर्वत जिल्लामा सुन्तला उत्पादनको राम्रो संभावना रहेको छ । जिल्लाको झण्डै ३ हजार क्षेत्रफलमा सुन्तला उत्पादन हुन सक्छ तर अहिले सम्म ७ सय हेक्टरमा मात्र सुन्तला खेती हुँदै आएको छ ।  

प्रमुख समाचार

भिडियो संग्रह